६ पुस, काठमाडौं । जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ । सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिंदै जनकपुर च्याम्पियन बनेको हो । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको हो । उपाधिसँगै जनकपुरले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
