काठमाडौं। नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडा भ्रमण हारबाट सुरुआत गरेको छ। ओडिआई इतिहासमा क्यानडासँग नेपाल पहिलो पटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको ३ भेटमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो । क्यानडाको ओन्टेरियोमा मंगलबार बिहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल १०३ रनले पराजित भएको हो। क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा अल आउट हुनुपुर्व मात्र १ सय ५० रन जोड्न सक्यो । क्यानडाका लागि कप्तान निकोलस किर्तनले ४४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा नटआउट ७३ रनको अर्धशतकीय ईनिङ खेले । नबनित धालीवालले ९० बलमा ४८ रन जोडे । नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान २ तथा सन्दीप लामिछाने, गुलसन झा, रोहित पौडेलले समान १ विकेट लिए । तर, क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १५० रन मात्रै बनाउन सक्यो। नेपाली टोलीका करण केसीले सर्वाधिक २७ रन बनाए। सन्दीप लामिछानले २२, आसिफ शेख २०, भीम सार्की १८, गुलसनकुमार झा १५ र कुशल मल्ल १२ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
